‘मल पनि छैन सिँचाइ पनि छैन ’
कैलाली | जेठ ३०, २०७९
कैलाली : मल नपाएर दिक्क भएका कैलालीको टीकापुर क्षेत्रका किसान सिँचाइ सुविधाका लागि कुलाको मुहानमा बाँध लगाउने कार्यमा जुटेका छन् ।धान खेती गर्ने समयमा सिँचाइ कुलामा पर्याप्त पानी नआएपछि यहाँका एक हजार ५०० किसान रानी कुलाको मुहानमा श्रमदानमा जुटेका छन् ।
अहिले उनीहरु दैनिक रुपमा जानकी गाउँपालिका–३ मालझुलस्थित रानी कुलाको बाँध लगाउन व्यस्त छन् । यसका लागि झाला पाता, नर्कट, माटो, ढुङ्गा, प्रयोग गरिरहेका छन् । यसरी बाँध बाध्न आवश्यक झालापातालगायतका सामान किसानले घरघरबाट बोकेर लगेका हुन् ।
“किसानले डनलप, ट्र्याक्टर, साइकलमा घरघरबाट झाला पाता, नर्कट बोकेर लगेका हौँ”, रानी कुलाका अध्यक्ष श्रीपाल चौधरीले भन्नुभयो, “खेती गर्ने समयमा पानीको जोहो पनि किसान आफैँले गर्नु परिरहेको छ । एकातिर किसानलाई मल नपाएर समस्या छ, अर्कोतर्फ खेती गर्ने समयसम्म सिँचाइ सुविधा पुगेको छैन ।”
रानी कुलाको महुनमा भएको बाँध रानीजमरा कुलरिया सिँचाइ आयोजनामार्फत निर्माण भइरहेका तटबन्धभ निर्माण गर्दा ठेकेदारले भत्काइदिएको किसानको गुनासो छ । ठेकेदारले बाँध निर्माण गरिदिने भने पनि अहिलेसम्म निर्माण नगरिदिएपछि असार लाग्नै थाल्दा ५२ गाउँका किसान आफैँ मुहानमा पुगेका हुन् । “आवश्यक सामान जोहो पनि हामी आफैँले गरेका छौँ, हरेक घरबाट एक/एक जना किसान श्रमदानमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “प्रति उपभोक्ता रु १५ उठाएका छौँ, आइतबार श्रमदान गर्यौँ, झालापाता बाध्ने काम गर्यौँ, आज स्काभेटरले ग्राभेल उठाएर झाला दवाउने काम गर्ने तयारी छ ।”
बाँध लगाउन किसानले झाला पाता, नर्कट, माटो, ढुङ्गा प्रयोग गरेका छन् । “आयोजनाले तटबन्ध निर्माण गर्दा यसअघि मुहानमा रहेको जाली, तटबन्ध सबै भत्काइदिएको थियो । हामीलाई आयोजनाले बनाइदिन्छु भनेको थियो तर बनाएन”, किसान रमेश चौधरीले भन्नुभयो, “निर्माण ठेकेदारले गरेन भनेर कुर्ने कुरा भएन । समयमै बाँध नबनाएमा सिँचाइ सुविधा पाउन र बर्सातमा आउने बाढी नियन्त्रण गर्न सकिँदैन । त्यसैले हामी आफैँ जुट्यौँ ।”
रानी कुलाको मुहानमार्फत यस क्षेत्रमा ७०० हेक्टर जमिन सिँचाइ हुन्छ । रानी कुलाबाट १९ शाखा कुलामा पानी जान्छ । “सबैभन्दा लामो कुलामा रानी कुला पर्छ । यहाँबाट सिँचाइ सुविधा लिने जमीन बढी छ”, किसान दिलेन्द्र कुश्मीले भन्नुभयो, “बीउ त जसोतसो बोरिङ मोटरको सहयोगमा राखियो, अब खेतमा पानी नपुगे धान रोप्न सकिँदैन ।”
कैलालीमा सिँचाइ सुविधाका लागि रानीजमरा कुलरिया सिँचाइ आयोजना सञ्चालनमा छ । आयोजनाले सिँचाइ सुविधाका लागि गाउँ गाउँमा नहर निर्माण, नदी नियन्त्रणका लागि तटबन्ध निर्माण जस्ता कार्य गर्दै आएको छ । आयोजनाले शाखा, प्रशाखा कुला व्यवस्थापनमा सघाउने काम गरिरहे पनि निर्माण कम्पनीले भत्काएका संरचना समयमै मर्मत नहुँदा किसानले खेती गर्ने समयमा दुःख पाउने गरेका छन् ।
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्सले पुनरागमन जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्...
पोखरा: रक्तदाता केवल बजार क्षेत्रमा मात्र सिमित नभई ग्रामीण क्षेत्रमा पनि छन् भन्ने माझठानाको सौर्यमा आयोजित रक्तदान कार्यक्रमले उदाहरण दिएको छ । माझठाना पोखरा सम्पर्क समाज र नेपाल रेडक्रस सोसाईटी उपशाख...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा न्यू डायमण्ड स्पोट्र्स क्लबले सहज जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको प...

